0
प्रतिक्रिया
काठमाडौँ । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकामध्ये थप २ जनाको शव चितवनको ईच्छाकामना गाउँपालिका-६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ स्थित व्यारेज पुलमा फेला परेको छ ।
बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ । फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
अन्य वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।
बाढीको कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई १ सय ४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पुर्याएको छ । त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजि हेलिकप्टर कम्पनीमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
त्यसैगरी चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको छ ।
विपद्को कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका ४ वटा ईभि साधन र ४ वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको छ भने कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै सो क्षेत्रमा अवरुद्ध भएको संचार र विद्युत संचालनमा ल्याईएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायलाई निरन्तर परिचालन गरी आजदेखि सुचारु गराएको हो ।
विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी-रसुवागढी सडकखण्डलाई यथाशीघ्र सुचारु गर्नको लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र बाटो सुचारु गर्नको लागि आवश्यक समन्वय समेत भइरहेको बताइएको छ ।
असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको थियो । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.