0
प्रतिक्रिया
पोखरा । देशभरका सुनचाँदी पसल आजदेखि सुचारु भएका छन् । मुख्य सिजन असार महिनामै आफ्नो व्यवसाय बन्द गरेर सडकमा ओर्लिएका व्यवसायी सरकारसँग बिहीबार ६ बुँदे सहमति गरी आजदेखि व्यवसायमा फर्किएका हुन् ।
सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेजीको माग गर्दै व्यवसायी आन्दोलनमा होमिएका थिए ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा व्यवसायी सडकमा ओर्लिएका थिए ।
सरकारको पछिल्लो नीतिले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने व्यवसायीले जिकिर थिए ।
सरकारसँगको सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन् ।
यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र आवश्यकतानुसार संशोधन गरिने भएको छ ।
साथै सुनचाँदीको बिक्री वितरणमा देखिएको तह स्पष्ट पार्ने व्यवस्था मिलाइने दुवै पक्षबीच सहमति भएको छ ।
यस्तै, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिप्रति केही व्यवसायीले भने असहमति जनाएका छन् । व्यवसायीको असहमतिप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले धैर्य गर्न, बुझाइमा हतारो नगर्न र उपलब्धिको रक्षा गर्नतर्फ लाग्न आग्रह गरेका छन् ।
साथै माग कार्यान्वयनमा आगामी दिनमा आधार तय गर्दै नीतिगत र प्राविधिक कुरालाई मनन गर्दै माग सम्बोधनका लागि खवरदारी पनि गर्नुपर्नेमा अध्यक्ष सुनारले जोड दिएका छन् ।
उनले भने, ‘यो शुरुआत हो, अन्त्य होइन । आन्दोलन फिर्ता होइन हाललाई स्थगन गरिएको हो, माग पूरा नहुने बेलासम्म हाम्रो खबरदारी, वार्ता र संवाद जारी रहन्छ ।’
नयाँ कर नीति होइन साबिककै व्यवस्थामा नै सुनचाँदी व्यवसायको निरन्तरता रहने अध्यक्ष सुनारले स्पष्ट पारे ।
एक महिना भित्र कार्यदलले छिनोफानो गर्ने भएकाले यस बिचमा कुनै धरपकड भए महासंघले जिम्मा लिने उनले स्पष्ट पारे । अध्यक्ष सुनारले मनोवल उच्च राख्न व्यवसायीलाई आग्रहसमेत गरेका छन् ।
यस्तो छ महासंघ र सरकारबीच भएको सम्झौता पत्र
Copyright © 2024 | All rights reserved.