0
प्रतिक्रिया
पोखरा । नेपाल पर्यटन बोर्डका सदस्य तथा बजेट तर्जुमा तथा स्रोत व्यवस्थापन समिति संयोजक ऋषि भण्डारीले देशभरका पर्यटन व्यवसायीका समस्या निकै रहेको बताएका छन् । राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको उनले स्पष्ट पारे ।
इम्ब्रोइडरी इण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा उद्घाटन गर्दै उनले पर्यटन आगमन अझै सोचेजति हुन नसकेको उनले बताए । अहिले मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उनले वर्षमा १०/१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने स्पष्ट पारे ।
बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने भण्डारीले बताए । अन्तर्राष्ट्रिय कानून र ऐन थुपारेर मुलुकको पर्यटन विकासमा अवरोध सिर्जना गर्ने गरिएको उनले दुःखेसो पोखे ।
पर्यटन बोर्ड निजी क्षेत्रमैत्री हुनुपर्ने आवाज उठिरहेको भए पनि राज्यका निकायले निजी क्षेत्रको आवाजको बेवास्ता गर्ने गरेको उनले गुनासो गरे ।
पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता जनाए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले एगासँग सहकार्य विगतमा गरिएको र भविष्यमा पनि हुने बताए । पर्यटन प्रवर्द्धनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले एगा पोखराको गरिमा निकै माथि बढेको बताए । उनले परिषदमा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
एगाका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवर्द्धनमा एगाले खेलेको भूमिका प्रशंसनीय रहेको र सबैको सहयोगले संस्थालाई माथि उठाउन प्रयास गरिने प्रतिवद्धता जनाए । अध्यक्ष लम्सालले संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको प्रचार प्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको स्पष्ट पारे ।
एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
नेचर, कल्चर र एड्भान्चर बाह्य पर्यटन प्रवर्द्धनको मुख्य आधार रहेको भन्दै यसतर्फ विशेषरुपले ध्यान दिनुपर्नेमा उनले जोड दिए । पर्यटनलाई सर्भिस ओरेन्टेड हिसावले कसरी हेर्ने भन्ने विषयमा छलफल र बहस आवश्यक रहेको भण्डारीले बताए ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवं पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवर्द्धनका लागि नारा मात्र होइन, दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म समन्वय गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई सुरक्षित, आकर्षक र पहुँचयोग्य गन्तव्यको रूपमा उभ्याउनुपर्नेमा जोड दिए ।
एगाका पूर्वअध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको उनले बताए । मुक्तिनाथको प्रवेशद्वार पोखरा बनाउनुपर्नेमा उनले जोड दिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य राज्यले ध्यान दिन नसके पनि निजी क्षेत्रबाट भएका गतिविधिले धेरै नै उत्साहित बनाएको बताए । पर्यटन क्षेत्रको सुधारका लागि निजी क्षेत्र, समुदाय, र सरकारबीचको साझेदारी बलियो हुनु आवश्यक रहेको उनले स्पष्ट पारे ।
पर्यटन विज्ञ दीपेन्द्र पहारीले नेपालको पर्यटन क्षेत्र देशको समग्र आर्थिक विकासको मेरुदण्ड भएको भन्दै पर्यटन विकासमा सबै संघसंस्थाको सहकार्य आवश्यक भएको बताए ।
संस्थाका उपाध्यक्ष गीता ढकाल पौडेलले संस्थाको महत्व निकै बढेको भन्दै सबैले सकारात्मक सोँच राखेर संस्थालाई अघि बढाउनुपर्ने खाँचो औँल्याइन् । उनले इम्ब्रोइडरीमार्फत नेपाललाई विश्वमाँझ परिचित गराउने एकमात्र संस्था एगा भएको बताइन् ।
कार्यक्रममा गोविन्द प्रसाद अधिकारी, पत्रकार वासुदेव पौडेललगायतले पर्यटन क्षेत्रका समस्या र समस्या समाधानका उपायबारे सुझाव राखेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट, विभिन्न कार्यक्रमका संयोजक रमेश उप्रेती, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष पौडेलले स्वागत र सचिव माया सुवेदीले सञ्चालन तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.