0
प्रतिक्रिया
पोखरा । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ ।
आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।
“गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन्, वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरुमा पानीको सतह निरन्तर बढिरहेको छ, यसले थप जोखिम निम्त्याएको छ, बाढी पहिरो, डुबीनको खतरा बढेको छ, यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ”, सूचनामा उल्लेख छ ।
प्रदेश सरकारले कहीँकतै विपत्तीमा परेका भए तुरून्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ ।
विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा रहेको जनाइएको छ ।
वर्षाका कारण पर्वतमा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पोखराको पिपलडालीमा पहिरोेले एक घर बस्ने नमिल्ने गरी पुरिएको छ । पोखरा १३ मा पनि बाढीले एक घर बगाएको छ ।
Copyright © 2024 | All rights reserved.