0
प्रतिक्रिया
पोखरा । साहित्यकार तथा लेखक दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार’ प्रदान गरिने भएको छ ।
साहित्यकार कल्याण पन्त संयोजक, साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको समितिले समीपलाई पुरस्कृत गर्नका लागि सिफारिस गरेको हो ।
सो सिफारिस अनुसार नै लमजुङ-पोखरा सम्पर्क समितिले समीपलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै समीपलाई पुरस्कार समर्पण गर्न लागिएको समितिले जनाएको छ ।
समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र सम्मान पत्र छ ।
यही मंसिर १५ गते समीपलाई पुरस्कृत गरिने समिति अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।
हरेक दुई-दुई वर्षमा अर्पण गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई प्रदान गरिएको थियो ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकारसमीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् ।
उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह), नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) कृति प्रकाशित छन् ।
उनले विभिन्न साहित्यिक पत्रिका समेत सम्पादन गरेका छन् । विशेषगरी गजलकारका रुपमा परिचित उनी कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि उनले कलम चलाउँदै आएका छन् ।
समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार-२०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार-२०५५, खुला मुक्तक प्रतियोगिता-२०५५(प्रथम), गजल साधना सम्मान-२०६३ (भूगोलभित्र नकोरिएको देश गजल सङ्ग्रहका लागि), समता काव्य सम्मान-२०६६, शिल्पी साहित्य सम्मान-२०६६ प्राप्त गरेका छन् ।
साथै उनले स्रष्टा साहित्य चौतारी पुरस्कार-२०६८, गजल प्रतिभा पुरस्कार-२०६९, अक्षरयात्रा सम्मान-२०७०, गजल सन्ध्या सम्मान-२०७०, मुक्तक मञ्च पोखरा सम्मान-२०७३, गजल मन्च मकवानपुर सम्मान-२०७४, लेखक कृति पुरस्कार-२०७९ (अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रहका लागि), बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८० र अभिलेख सम्मान-२०८१ प्राप्त गरिसकेका छन् ।
Copyright © 2024 | All rights reserved.