पुस ०२, २०८१, मंगलबार

आवासीय छात्रावास बनाउँदै पाेखराकाे युनाइटेड क्लब


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको युनाइटेड क्लबले युनाइटेड आवासीय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीलाई लक्षित गरी चार करोड रुपैयाँको लागतमा छात्रवास निर्माण गर्न लागिएको हो ।

पोखरा महानगरपालिका वडा नं २७ अर्चलेस्थित क्लबको आठ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहनेछ ।

साथै ५० जना विद्यार्थीलाई राख्न मिल्ने गरी भवन बनाउन लागिएको भवन निर्माण संयोजक तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

उनका अनुसार पहिलो वर्ष चार कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षैपिच्छे निर्माणको काम हुनेछ ।

उक्त छात्रवासको सोमबार संघीय सांसद मनबहादुर गुरुङले शिलान्यास गरे । सो अवसरमा सांसद गुरुङले गरिब विद्यार्थीलाई लक्षित गरी आवासीय छात्रावास निर्माणमा लाग्नु क्लबको सह्राना गरे ।

उनले छात्रावास निर्माणमा आफूले सक्दो सहयोग गर्ने र सरकारको विभिन्न मन्त्रालय र विभागमा समेत योजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

पोखरा-२७ का वडासदस्य सूर्यबहादुर वाग्लेले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थी लक्षित आवासीय छात्रावास निर्माण हुन लागेको भन्दै वडाको तर्फबाट सहयोग रहने बताए ।

छात्रावासस्थल सम्म वडाले यसअघि नै सडक निर्माण गरिसकेको भन्दै उनले सडकको स्तरोन्नतिमा पनि सघाउने गर्ने बताए ।

क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धन र खुला चिडियाखाना निर्माणको पहलकदमी उठाउँदै आएको बताए । उनले क्लबकै पहलमा पोखराको लेखनाथस्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको स्पष्ट पारे ।

चिडियाखाना निर्माणका लागि क्लबकै पहलमा सामुदायिक वनसँग सहकार्य गरेको भएता पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको उनले गुनासो गरे ।

छात्रावास निर्माण समिति संयोजक बख्रेलले क्लबका परियोजनाको रुपमा छात्रावास निर्माण गर्न लागिएको र यसमा सरकारको सहयोग आवश्यक रहेको बताए ।

क्लब अध्यक्ष लोकबहादुर थापाले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीलाई लक्षित गरी आवासीय छात्रावास निर्माण गर्न लागिएको स्पष्ट पारे ।

क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत र महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Copyright © 2024 | All rights reserved.