0
प्रतिक्रिया
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १७औँ हिसान स्पोर्टस् मिट शुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिन सोमबार छात्र बास्केटबलतर्फ १४ खेल सम्पन्न भएका छन् ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टुतर्फका १४ खेल सम्पन्न भएको खेल संयोजक खिमबहादुर गुरुङले जानकारी दिए ।
जसमा पोखरा आदर्शले रेन्वो एकेडेमीलाई ४४-६ ले, बालकल्याणले सिर्जना माविलाई ४१-१३ ले, ग्लोबल कलिजियटले सगरमाथा माविलाई ३१-२५ ले, सोसल पब्लिकले बालोदय माविलाई २९-१० ले, पोखरा युनाइटेडले बेथानीलाई २२-१४ ले पश्चिमाञ्चल माविले गुरूकुल माविलाई ३५-१२ ले र करुणानिधी एजुकेशन फाउन्डेशनले डायमण्ड माविलाई २१-८ को स्कोरले पराजित गर्यो ।
यस्तै हिल पोइन्टले जुनिएर सिटिजन एकेडेमीलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३२-३१ को स्कोरले पराजित गरेको छ । त्रिवेणी माविले साइनिङ्ग स्टारलाई ३७-२१ ले, मनकामनाले वेलननलाई ३३-१६ ले, स्टेप वाई स्टेपले मदरल्याण्डलाई २७-२३ ले, माउन्ट अन्नपूर्ण माविले ज्योती कुञ्जलाई ३४-२२ ले, मेरीगोल्डले लिटल फ्ल्वारलाई २०-१४ ले र शान्ति निकुञ्जले अक्सफोर्डलाई १४-७ ले पराजित गरेका छन् ।
हिसान स्पोर्टस् मिट मंसिर ११ देखि १४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा प्लस टु (कक्षा ११-१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका विद्यार्थी विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की सचिव किरण सापकोटाका अनुसार छात्रछात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुलटेनिसका प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा मावि तह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुनेछ । छात्र बास्केटबलमा ३९ विद्यालय सहभागी हुने सापकोटाले बताए । छात्रातर्फ भने ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
टेबुल टेनिसतर्फ छात्रछात्रा सिंगल्स, डब्लसतर्फ एक सय ११ खेल हुनेछन् । विद्यालयतर्फ व्याडमिन्टन छात्रछात्रातर्फ सिंगल्स र डबल्समा गरी कुल एक सय २४ खेल हुने आयोजकले उनले बताए । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ आठ र छात्रातर्फसमेत आठ टिमले सहभागिता जनाएका छन् ।
हिसान कास्की उपाध्यक्ष पुरन कुँवरका अनुसार हिसान कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालयतर्फ १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस् मिटमा भाग लिएका छन् ।
यसैबीच प्रतियाेगिताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरिने भएको छ ।
प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन् ।
उद्घाटन कार्यक्रम पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुने हिसान कास्की अध्यक्ष दिवाकर जैशीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.