0
प्रतिक्रिया
पोखरा । होटल क्षेत्रका लागि दक्ष कामदार उत्पादन गर्ने उद्देश्यका साथ बुधबार पोखरामा कार्यक्रम आयोजना गरिएको छ ।
होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले कार्यक्रम आयोजना गरेका हुन् ।
कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योरअन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।
सो अवसरमा संघअन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारी सहभागी थिए ।
स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजनामार्फत् प्रिडिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम संचालन गर्दै आएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रिडिप्लोमा तह बमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अवधि तोकिएको हो ।
उक्त अवधिमध्ये साढे तीन महिना शिक्षालयमा र साढे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान छ ।
कार्यक्रमअन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता आठ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पारे ।
होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्दरुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले प्रष्ट्याए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमार्फत् नेपालका युवा, महिला तथा पुरुषलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्देश्यले २०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ ।
रोजगारी, श्रम बजारको आवश्यकतालाई सम्वोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्देश्य छन् । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट) प्रकृतिको हो ।
कमाउँदै सिक्दै भन्ने मान्यता अनुशरण गर्दै सैद्धान्तिक र व्यवहारिक रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ ।
प्रशिक्षार्थीका लागि सरकारको तोकेको न्यूनतम् पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक एक सय यातायात खर्च, प्रिडिप्लोमा तहको प्रमाणत्रलगायतका सुविधा छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । सीप सिकेको जनशक्ति वैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नुपरेको उनले बताए ।
हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौतीको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुने भनाइ राखे ।
होटल संघ पोखरा नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले अप्रेन्टिसिप कार्यक्रमको सराहना गरे ।
कार्यक्रममा पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले बोलका थिए ।
Copyright © 2024 | All rights reserved.