0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवामन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं १३ को आर्बा-विजयडाँडामा आयोजना गरिएको दोस्रो ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रतियोगिता नेपालको खेलकुद क्षेत्र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उनले बताए ।
इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको मन्त्री थापाले बताए ।
मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन प्रतियोगिता निरन्तर भइराख्नुपर्नेमा जोड दिए । पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगितामार्फत टेवा पुग्ने उनले बताए ।
उनले पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी दिनमा पनि सहकार्य र समर्थन गर्न तयार रहेको स्पष्ट पारे ।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको अनुरोध छ ।
पोखरा-१३ मा आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने उनले बताए ।
ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन यस्ता प्रतियोगितामार्फत मद्धत पुग्ने विश्वास उनको छ ।
वडाध्यक्ष किरण बरालले पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा-१३ मा प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्बा-विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्याउने उनले बताए ।
“पोखरा-१३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पुर्याएको छ”, उनले भने ।
आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनको छ ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२-१८ वर्ष), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ईबाइक गरी मंसिर १२ देखि १४ गतेसम्म चल्ने छ ।
Copyright © 2024 | All rights reserved.