पुस ०२, २०८१, मंगलबार

राधाकृष्ण मन्दिर शान्ति आश्रम तथा गुरुकुल संस्कृत विद्यालयको वार्षिकोत्सव


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६०औँ, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको १२औँ वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले गुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताए ।

पोखरामा हाल नौवटा गुरुकुल सञ्चालनमा आएको भन्दै उनले सबैको सामुहिक प्रयासमा वैदिक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । राधाकृष्णलगायतका गुरुकुलका समस्या समाधानका लागि आफू निरन्तर लाग्ने उनले स्पष्ट पारे ।

राधाकृष्ण गुरुकुल परिसर नजिकै भैरहेको फोहोर व्यवस्थापनको विषयसँगै यहाँका हरेक समस्याको समाधानमा हातेमालो गर्दै जाने उनले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीले गुरुकुल सञ्चालनलाई दिगो र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमसँगै यससँग जोडिएका गुरुकुल र वृद्धाश्रमको सामुहिक प्रयास आवश्यक हुनेमा उनले जोड दिए ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्रीले गुरुकुल सञ्चालनमा लागि वार्षिक २८ लाख रुपैयाँ खर्च हुने गरेको र यसका लागि १८ लाख रुपैयाँ मात्र आउने भएकोले बाँकी १० लाख रुपैयाँको स्रोत जुुटाउन समस्या पर्ने गरेको बताए ।

आफूहरूको विरोधका बाबजुद पनि महानगरपालिकाले राधाकृष्ण मन्दिर परिसर नजिकै फोहोर व्यवस्थापन गरिदिँदा ममस्या भएको उनको भनाइ छ ।

विद्यालयमा अध्ययरत विद्यार्थी, वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकका साथै भक्तजन प्रदुषणको मारमा परिरहेको उनले बताए । फोहोर व्यवस्थापनका नाममा वडामा आएको बजेट यस क्षेत्रका लागि एक रुपैयाँ पनि विनियोजन नभएकोमा उनले दुखेसो गरे ।

वडासदस्य तीर्थबहादुर सुुयाँलले राधाकृष्ण मन्दिर, गुरुकुल तथा विद्यालयको सहयोगका लागि वडा कार्यालय प्रतिवद्ध रहेको भन्दै गुरुकुलमा शौचालय निर्माणको काम चाँडै नै सुरु गर्ने स्पष्ट पारे ।

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेलले राधाकृष्ण मन्दिर, गुरुकुल र बृद्धाश्रमको एकतावद्ध प्रयासबाट विशिष्ट धार्मिक एवं शैक्षिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक एवं आर्थिक अवस्थालगायतका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका उपाध्यक्ष झलकप्रसाद खनाल, विद्यालयका शिक्षक दामोदर गौतम, माधवशरण उपाध्याय, विद्यार्थी अमर घिमिरे, संदिप सापकोटा, अनिश दाहाललगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रधानाध्यापक प्रविण पौडेलले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा विद्यालयको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्वरुप मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ, भगवती पन्तले ५२ हजार ५५ रुपैयाँ, खगराज अधिकारीले ३७ हजार रुपैयाँ, वासुदेव दाशी तिवारीले ५० हजार रुपैयाँ, दिव्यरमण अर्यालले १५ हजार पाँच रुपैयाँ, सूर्यमणि सुवेदीले १५ हजार पाँच रुपैयाँ, विष्णुमाया पण्डितले १५ हजार एक सय ५५ रुपैयाँ, गोविन्दप्रसाद पगेनीले ११ हजार एक सय ११ रुपैयाँ अक्षयकोष रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा गुरुकुलबाट एसइई उत्तीर्ण विद्यार्थी सन्दीप पौडेल, अंकित पौडेल, अभिषेक आचार्य, सुशिल खनाल, कृष्ण घिमिरे र रुपेश हुमागाईलाई सम्मान गरिएको थियो ।

यस्तै गोविन्दप्रसाद कोइरालाद्वारा स्थापित छात्रवृत्ति अक्षयकोषबाट कक्षा ६ देखि १० सम्म क्रमशः सुदीप रेग्मी, निराजन दाहाल, किस्मत रिजाल, रोहित शर्मा र सन्दीप सापकोटालाई पुरस्कृत गरिएको थियो ।

यस्तै सहयोगदाता विवस बस्नेत, विनिता पण्डित घिमिरे, कृष्णबहादुर विकलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले रचना गरेको नेपाली हाम्रो श्रम र सीप कविता वाचन तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यस्तै २०८० को वार्षिक परीक्षामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.