पुस ०२, २०८१, मंगलबार

आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्छ : प्रदेश प्रमुख भट्ट


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताएका छन् ।

हिमालय समर्पण ध्यान योग नेपालले पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा प्रदेश प्रमुखले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्ने बताए ।

‘आज मानिस अशान्ति, तनाव, अहंकार जस्ता रोगबाट पीडित छन्, यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ, योग भनेको जोड हो, ध्यानका लागि कुनै रकम खर्च गर्नुपनि पर्दैन, सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ’, उनले भने ।

ध्यानले आफ्नै आत्मासँग हाम्रो सम्बन्ध गाँसिदिने र त्यसपछि हाम्रो आत्माले हामीलाई मार्गनिर्देशन गर्ने उल्लेख गर्दै उनले ध्यान जति गहन हुँदै जान्छ त्यति नै हामीमा शरीरभाव कम हुँदै जाने र आत्मभाव वृद्धि हुन थाल्ने बताए ।

शरीर, मनको स्वस्थतासँगै जीवनमा सफलताका लागि योग आवश्यक रहेको उनले बताए । ध्यान गर्दा विचार सन्तुलित हुने प्रदेश प्रमुखले बताए । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा नहुने भन्दै उनले योगसँगै ध्यान पनि जोडिने बताए ।

उनले भने, ‘ध्यानले हरेक कुराको मार्गदर्शनको ढोका खुल्न थाल्नेछ, यो हिमालय समर्पण ध्यान योग संस्कार विश्व चेतनासँग जोडिने एक सरल र सशक्त माध्यमका रुपमा मैले बुझेको छु ।’

उनले सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुने स्पष्ट पारे ।

भट्टले जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहने र त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गरे ।

‘हाम्रो जीवनको मुक्ति साधना हो, साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन, सफलताको लागि कर्म गर्नुपर्दछ, कर्म असल भयो भने मात्र सफलता सम्भव छ’, भट्टले भने ।

हिमालय समर्पण ध्यान योग नेपालको आयोजनामा शनिबार बिहान पोखरा रंगशालामा जीवन रूपान्तरणको लागि हिमालयन ध्यानयोग अन्तरमनको शान्तियात्रा २०८१, आत्मिक शुद्धिका लागि निःशुल्क अद्वितीय ध्यान शिविर छ ।

हिमालयमा तपस्या गरेका ऋषिमुनीका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गरेका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रुपमा नेपाल सरकारले नियुक्त गरेको थियो ।

४५ वर्ष अघि श्री पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गरेका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गरेका थिए ।

उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणको लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

Copyright © 2024 | All rights reserved.