0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले ‘नेशनल सोसल चेञ्जमेकर अवार्ड’ प्राप्त गरेकी थिइन् । नेपाल युवा परिषद्ले भण्डारीलाई अवार्ड प्रदान गरेको हो ।
गण्डकी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा भण्डारीलाई सम्मान गरिएको बताइन्छ ।
भण्डारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अवार्ड प्रदान गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्रीले समाज परिवर्तनका लागि क्षमतावान युवा सिस्टमबाट आएमा आफूले सहयोग गर्ने बताए ।
उनले यस्ता सम्मानले युवालाई प्रोत्साहन थप्ने बताए । महिला अधिकार, मानव बेचबिखनविरुद्धको अभियान र सामाजिक सेवामा सम्मानित व्यक्तित्व भण्डारीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले गण्डकी प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण प्रभाव पारेको मुख्यमन्त्रीले बताए ।
परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले भण्डारीको योगदानले लाखौँ युवालाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
सम्मानित व्यक्तित्व भण्डारीले जीवनमा निरन्तर संघर्ष गर्दा सफलता प्राप्त हुने भएकोले सकारात्मक कर्म गर्न थाक्न नहुने बताइन् ।
सम्मेलनमा गण्डकीका ११ वटै जिल्लामा युवाको प्रतिनिधित्वसहित उत्कृष्ट कार्य गरेका युवालाई गण्डकी आइकन प्रदान गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.