पुस ०२, २०८१, मंगलबार

एकै स्वरमा कीर्तिपुरमा कर्मा र कुटुम्ब गुञ्जिने


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब साँगीतिक समूह मङ्सिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रवर्धन र आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिए ।

कर्मा व्याण्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साँगीतिक इतिहासलाई जीवन्त बनाएको व्याण्ड हो । कर्माले नेपाली गीतसङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली साँगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ ।

कन्टर्समा कर्मा व्याण्डका साँगीतिक यात्राका चर्चित गीत ‘हुक्का मेरो डल्ले डल्ले...’, ‘मौनता...’, ‘को हौ तिमी...’ लयायतका दर्जन भाका गुञ्जिने छन् ।

कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्टर्र्स अनुकरणीय बन्ने छ ।

कुटुम्ब साँगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साँगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।

समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुनमार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्ने छन् । कर्माको लोक र रकको सशक्त फ्यूजन एवं कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहने छ ।

कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

कन्टर्समा कर्मा व्याण्डसँगै कुटुम्बको अभूतपूर्व साँगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ ।

कीर्तिपुरको साँस्कृतिक, साँगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवं आशावादी धुनले झङ्कृत गर्ने छ ।

कीर्तिपुर नगरको साँगीतिक र साँस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र साँगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असाहय बालबालिकाको पढाइमा सघाउने उद्देश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो ।

ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको बृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ ।

डिजिटल माध्यमबाट मुलुकबाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ ।

आदि ग्रुपअन्तर्गतको एएसक्यु इकाईले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ ।

गतवर्ष पोखरामा पौष २७ गते कन्दरा व्याण्डको ऐतिहासिक ‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको सफल व्यवस्थापन गरेको एएसक्युले ‘एकै स्वरमा, कीर्तिपुरमा’ लाई सफल बनाउन कटिबद्ध रहेको जनाएको छ ।

कीर्तिपुरको साँगीतिक माटोबाट सुरु भएको कर्मा व्याण्डको यात्रा र कुटुम्बको लोक धुनको मोहक प्रस्तुति जीवनभर सम्झनालायक क्षण बन्ने आयोजकको दाबी छ ।

Copyright © 2024 | All rights reserved.