0
प्रतिक्रिया
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४औँ नेशनल प्याव्सन खेलकुद महोत्सव हुने भएको छ । खेलकुद महोत्सव ‘एनप्याब्सन कास्कीको इच्छाः विद्यालय तहमा खेलकुदसहितको शिक्षा’ भन्ने मूल नाराका साथ मंसिर २५ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव मंसिर २५ मा औपचारिक उद्घाटन हुने भए पनि २१ गतेदेखि नै खेलकुदका कार्यक्रम हुने संस्थाका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । महोत्सवमा ४६ विद्यालयका करिब आठ हजार पाँच सय विद्यार्थीले प्रतिस्पर्धाका गर्ने उनले जानकारी दिए ।
जसमा जुनियर छात्रतर्फ एक हजार एक सय ५० र छात्रातर्फ एक हजार एक सय ५० सहभागी हुनेछन् । यस्तै सिनियर छात्रतर्फ तीन हजार दुई र छात्रातर्फ दुई हजार छ सय छात्राले महोत्सवमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी कक्षा ११ र १२ छात्रतर्फ दुई सय ५० र छात्रातर्फ एक सय ५० जनाले प्रतिस्पर्धा जनाउने छन् । महोत्सवमा कुल नौ सय २९ जना विद्यार्थी पुरस्कृत हुनेछन् । जसमा दुई सय ५१ स्वर्ण पदक, दुई सय ५१ रजत पदक र चार सय २७ कास्य पदकका लागि विभिन्न नौ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यसपटक सडक दौड र पुरुष क्रिकेट पनि समावेश गरिएको छ । मंसिर २२ मा कक्षा १ देखि १० सम्मका विद्यार्थीको पाँच किमि सडक दौड हुनेछ । साथै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्सका खेल हुनेछन् ।
जुनियरतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडका साथै लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस खेल हुनेछ ।
यसैगरी सिनियरतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ मिटरको दौड हुनेछ भने छात्रतर्फ एक हजार पाँच सय मिटरको दौडसमेत हुनेछ ।
कक्षा ११ र १२ का छात्रतर्फ फुटसल र बास्केटबल तथा छात्रातर्फ बास्केटल पनि हुनेछ ।
यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबलका साथै छात्रतर्फ इलाभेन ए साइड फुटबल र छात्रातर्फ सेभेन ए साइड फुटसल प्रतियोगिता हुनेछ ।
महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीसहित एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम छ ।
महोत्सव सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
Copyright © 2024 | All rights reserved.