0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित आदर्श युवा क्लबले २५औँ आदर्श कप फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता भण्डारढिक खेलमैदानमा मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक समिति कोषाध्यक्ष बिष्णु हमालका अनुसार प्रतियोगितामा सहभागी गराउन स्थानीयलाई मात्र नभएर बाहिरी जिल्लाका खेलाडीलाई समेत निमन्त्रणा गरिएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडी तथा टिम सहभागी हुन सक्ने उनले बताए । हमालका अनुसार प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।
प्रतियोगिता विजेताले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ, उपविजेताले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेण्डर, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने तथा स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि क्लबका उपाध्यक्ष ओमप्रकाश गुरुङको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।
Copyright © 2024 | All rights reserved.