0
प्रतिक्रिया
पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् ।
समिति उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु छन् ।
अनेसास नेपाल च्याप्टरले शनिबार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरी समिति घोषणा गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि अनेसासले पुर्याएको योगदान अतुलनीय रहेको बताए ।
उनले आफू नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा रहेका बेला अनेसासका केही च्याप्टरका कार्यक्रममा सहभागी भएकोसमेत स्मरण गरे ।
वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उल्लेख्य योगदान दिएको बताइन् ।
र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष रूपिन्द्र प्रभावीले साहित्यको उन्नयनका लागि स्थापित संघसंस्थाका बीच सहकार्य र सहयात्रा गरेर अगाडि बढ्दा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।
नवनिर्वाचित अध्यक्ष देवेन्द्र केसीले अनेसास केन्द्रीय समितिको वार्षिक कार्ययोजनानुसार प्रदेश समितिलाई क्रियाशील राख्न प्रतिबद्ध रहने बताए ।
समारोहमा अनेसासका केन्द्रीय सचिव रविन शर्माले प्रदेश समितिले विगतका वर्षमा जस्तै गतिविधि सञ्चालन गर्नेमा विश्वस्त रहेको धारणा राखे ।
समारोहमा केन्द्रीय सदस्य सुमन वर्षा, नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले अनेसासका विविध गतिविधिबारे प्रकाश पारेका थिए ।
सोही समारोहबीच अनेसास बोस्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको गजलगायनसमेत रहेको थियो ।
पन्तले आफ्ना र अनेसासका पदाधिकारीका गजल गायन गरेका थिए । उनलाई तबलामा संगीत प्रशिक्षण केन्द्रका संगीतकार मिलनले सहयोग गरेका थिए ।
विशेष रचनावाचनमा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिल, कोषाध्यक्ष कमला रिसाल, कतार च्याप्टर पूर्वअध्यक्ष प्रेम भट्टराई, अनेसास पोर्चुगल च्याप्टर महासचिव एन.बी. अञ्जानलगायतले रचना प्रस्तुत गरेका थिए ।
समारोहमा देवेन्द्र केसी देवुको मुक्तक सङ्ग्रह दृढ संकल्प र गीति एल्बम देवुको गृह लोकार्पण र कार्यक्रम संयोजक दुर्गाबहादुर शाह बाबालाई पुतलीबजार प्रज्ञा-प्रतिष्ठानको उपकुलपति नियुक्त भएकामा सम्मानसमेत गरिएको थियो ।
अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसीले अनेसासका प्रदेशस्तरमा स्थापना भएका समितिलाई क्रियाशील गराउन गण्डकी प्रदेशबाट शुरु गरिएको बताए ।
कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टर महासचिव रञ्जना निरौला र प्रदेश समितिका महासचिव असफल गौतमले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.