0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं.२३ पन्चासे भन्ज्याङमा निर्माण गरिएको हाई अल्टिच्युड खेलमैदानको उद्घाटन गरिएको छ ।
समुद्र सतहदेखि दुई हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको उक्त मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
पन्चासे भन्ज्याङमा बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
पञ्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यापर्यटनको हबका रूपमा विकास गरिने नगर प्रमुख आचार्यले बताए ।
पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै उनले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास साझेदारसँग सहकार्य गरिरहेको बताए ।
पञ्चासेमा बालाचर्तुदशीका दिन हजारौँ श्रद्धालु भक्तजन पुग्ने गरेकाले भन्ज्याङसम्म सुविधा सम्पन्न सडक निर्माणको प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।
घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नालासमेत निर्माण भइरहेकाले यो सडक सङ्घ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको उनले बताए ।
भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैङ्कसँग साझेदारी गरिएको र त्यहाँबाट पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण तथा मर्मत गरिने उनले बताए ।
पञ्चासे क्षेत्र विश्व मै धेरै प्रजातिका अर्किड पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए ।
भञ्ज्याङमा निर्माण गरिएको खेलमैदान पोखरा महानगरपालिकाको रु.२५ लाख, गण्डकी प्रदेश सरकारको रु.५ लाख, आदर्श क्लबको रु.३ लाख ७५ हजार र स्थानीय भक्तबहादुर गुरुङको रु.८० हजार लागतमा निर्माण भएको हो ।
Copyright © 2024 | All rights reserved.