पुस ०२, २०८१, मंगलबार

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्दैछन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्रीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् ।

प्रधानमन्त्रीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने बताइन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछन् ।

यस्तै नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।

प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्कने तालिका छ ।

Copyright © 2024 | All rights reserved.