0
प्रतिक्रिया
पोखरा । २०औं लेखनाथ महोत्सव आगामी पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव पोखरा-२७ तालचोकमा हुनेछ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको तयारी शुरु भएको छ ।
महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय व्यवसायीको पुनरुत्थानमा महोत्सवले महत्वपूर्ण र सकारात्मक भूमिका खेल्ने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गरे ।
उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
यस्तै, ख्यातिप्राप्त कलाकारको दोहोरी, पपकन्सर्ट, हाँस्य प्रहशन पनि महोत्सवमा रहनेछ ।
महोत्सवमा बाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महासचिव एवं महोत्सवका प्रचारप्रसार संयोजक जानुका पराजुलीका अनुसार संघले २०५८ मा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकुल परिस्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको छ ।
महोत्सवको थप आकर्षणको रुपमा यसवर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दूत गौतम बुद्धको प्रतिमा, नवप्रतिभा खोजीअन्तर्गतः खुला युगल जोडी नृत्य प्रतियोगिता, पहिलो पटक महिला समूह बीच हाजिरीजवाफ प्रतियोगिता समावेश गरिएको महासचिव पराजुलीले बताइन् ।
महोत्सवको आम्दानीबाट प्रदर्शनीस्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रवद्र्धन र ब्राण्डिङ गरिनुपर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापा, संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह-संयोजक राजेन्द्र ओझाले पनि कार्यक्रममा बोलेका थिए ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपमहासचिव भरत ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
महोत्सव सञ्चालन गर्नका लागि नौ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, एक सय १७ सदस्यीय कार्यसम्पादन समिति एवं ४७ उपसमिति गठन गरिएको छ ।
महोत्सवमा तीन सय ३६ स्टल रहनेछन् । स्टल बुकिङ सोमबारदेखि नै खुला गरिएको छ ।
Copyright © 2024 | All rights reserved.