0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले पोखरा महानगरपालिकामा देखिएका समस्या समाधानमा गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा अपिल जारी गर्दै उनले सबै समस्यालाई समाधान गरेर अघि बढ्ने कुरामा सहमति गर्नुको विकल्प नभएको स्पष्ट पारे ।
संवाद र वार्तामा रहेर समस्या समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमाले आवद्ध जनप्रतिनिधिसँग उनले आग्रह गरे ।
अब सबै मतभेद त्यागेर विधि, पद्धति र नीति नियमलाई स्थापित गरी आगामी दिनमा यस्ता खालका किचलो नगर्ने प्रतिवद्धतासमेत सबैबाट हुनुपर्नेमा उनले जोड दिए ।
महानगर बनाउने योजना र प्रतिवद्धतामा सँगसँगै र हातेमालो गरी अघि बढ्न साझा प्रण सबैले गर्नुपर्ने खाँचो उनले औँल्याए ।
महानगरमा कार्यपालिका बैठकका निर्णय कार्यान्वयन र कर्मचारी व्यवस्थापनका विषयमा दलगत मतभिन्नता र त्यसले उत्पन्न गरेको राजनीतिक जटिलता एवं अविश्वासलाई एउटै थलोमा बसेर हल गर्नुको विकल्प नभएको वडाध्यक्ष थापाले अपिलमा उल्लेख गरेका छन् ।
निरन्तरको संवाद र वार्ताले कतिपय अस्पटता र भ्रमलाई चिर्न सकिने उनको विश्वास छ । उनले निर्वाचनमा गरेका वाचा कति पूरा भए त्यसको गम्भीर समीक्षा हुन आवश्यक रहेको बताए ।
यस्तो छ अध्यक्ष थापाको अपिल
आदरणीय पोखरा महानगरवासी वुवा आमा, दाजुभाई तथा दिदी बहिनी एवं सम्पूर्ण जनप्रतिनिधि साथीहरु,
स्थानीय तहको निर्वाचनपछि हामी विजयी भएर पदभार ग्रहण गरिरहँदा आम पोखरावासीले गर्व गर्न र भन्न लायक हाम्रो पोखरा राम्रो पोखरा, समृद्ध र समुन्नत पोखरा बनाउने प्रतिवद्धता थियो । त्यो प्रतिवद्धतामा कति काम गर्यौँ अब त्यसको गंभीर समिक्षा हुन जरुरी छ ।
हिजो हामी फरक-फरक पृष्ठभूमिका राजनितिक दलबाट निर्वाचित भएर आएपनि पालिका सरकार एउटा साझा थलो हो । जहाँ सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरिएको छैन । पोखरा बनाउने सवालमा हामी एक हुनै पर्दथ्यो । नीजि र दलगत स्वार्थ भन्दा पनि महानगरवासीको स्वार्थमा हाम्रो योजना बन्नु पर्दछ भन्ने लाग्दछ ।
हामीले नीति र योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने कार्यमा भन्दा कर्मचारी प्रशासनलाई माईक्रो म्यानेज गर्ने तर्फ लाग्यौं । र योजनाका कुरामा भन्दा झिना मसिना कुराहरुमै अल्झिरह्यौं । त्यसैको परिणामस्वरुप जनताले देख्ने र महसुस गर्ने गरी काम नभएको बुझाई आम नगरवासीमा छ ।
महानगरमा बिगत केही समयदेखि कार्यपालिकाको बैठकका निर्णय कार्यान्वयन र कर्मचारी व्यवस्थापनका बिषयमा दलगत मतभिन्नता र त्यसले उत्पन्न गरेको राजनितिक जटिलता एवं अविश्वासलाई एउटै थलोमा बसेर हल गर्नुको विकल्प छैन भन्ने मलाई विश्वास छ । निरन्तरको संवाद र वार्ताले कतिपय अस्पटता र भ्रमलाई चिर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।
नेपाली काग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिका विचमा भएका छलफलले अहिले देखिएको समस्यालाई समाधान गरेर अगाडि बढ्ने कुरामा सहमति गर्नुको बिकल्प पनि छैन ।
सम्वाद र वार्तामा रहेर समस्या समाधानका लागि दुई दल आवद्ध जनप्रतिनिधि साथीहरुलाई हृदयदेखी नै आब्हान गर्न चाहान्छु ।
अब सबै मतभेदलाई त्यागेर विधि, पद्दति र नीति नियमलाई स्थापित गरी आगामी दिनमा यस्ता खालका किचलो नगर्ने प्रतिवद्धता समेत सवैबाट हुनुपर्दछ भन्ने मलाई लाग्दछ । महानगर बनाउने योजना र प्रतिवद्धतामा सँगसँगै र हातेमालो गरी अगाडी बढ्ने साझा प्रण सवैले गरौं भन्न चाहन्छु ।
Copyright © 2024 | All rights reserved.