पुस ०२, २०८१, मंगलबार

‘सम्बोधिका’ लाई लेखक कृति पुरस्कार


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार’ साहित्यकार ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तक सङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ ।

साहित्यकार दीपक समीप संयोजक रहेको पुरस्कार छनोट समितिले जन्मले वा कर्मले गण्डकी प्रदेशका लेखकद्वारा प्रकाशित कृतिमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको हो ।

पुरस्कारको नगद राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ । नेपाली लेखक सङ्घ कास्कीको हालै बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा सर्वसम्मत रूपमा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सचिव प्राञ्जलले जानकारी दिए ।

अबको केही समयपछि नै एक समारोहका बिच पुरस्कार अर्पण गरिने छ । सोही अवसरमा नेपाली, भाषा, साहित्य, अभिव्यक्त स्वतन्त्रताका लागि विगत लामो समयदेखि योगदान दिँदै आएका व्यक्तित्व तारा पाखेलाई सम्मान गरिने भएको हो ।

वि.सं. २०७५ सालमा स्थापित यो पुरस्कारबाट यसअगाडि दिव्याञ्जली २०७५, सरोज अर्याल ‘महाभारतमा के छ’ ? २०७६, डा. मतिप्रसाद ढकाल, ‘अक्षर अक्षरमा देश’ २०७८, दीपक समीप, ‘मफलर’ २०७९, प्रदीप रोदन पुरस्कृत भइसकेका छन् । २०७७ सालको पुरस्कार भने कोभिडका कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले जानकारी दिइन् ।

पोखरेली युवा सांस्कृतिक परिवारको प्रकाशनमा प्रकाशित मुक्तकसङ्ग्रह सम्बोधिका को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौँबाट प्रकाशित भइसकेको छ ।

लमजुङमा जन्मेर कास्की जिल्लामा क्रियाशील साहित्यकार अधिकारी विभिन्न साहित्यिक एवं सामाजिक संस्थामा नेतृत्वमा रही कुशल नेतृत्व पस्किसकेकना छन् । अधिकारीको यो तेस्रो कृति हो ।

यसअगाडि अधिकारीले समता काव्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा पुरस्कार, शिवपुरी साहित्य पुरस्कार, समता काव्य सन्ध्या रजत वर्ष सम्मान, झलक-पुष्पा साहित्य पुरस्कार, अनलाइन अभिलेख सम्मान, नेपाल विद्याभूषण ‘क’ लगायतका दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन् ।

विभिन्न साहित्यिक एवं अन्य संस्थासँग संलग्न अधिकारी हाल त्रिभुवन विश्वविद्यालय गणित विषयका सह-प्राध्यापकका रूपमा पृथ्वीनारायण क्याम्पसमा गणित विभागको अध्यक्षका रूपमा कार्यरत छन् ।

काव्यका विभिन्न भेदमा कलम चलाएका अधिकारी गीत, गजल, फुटकर कविता, कथा, निबन्ध एवं थुप्रै अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

त्यसैगरी वार्षिक रूपमा गरिने स्रष्टा सम्मान नेपाली प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान दिएका साहित्यकार एवं समाजसेवी तारा पाखेलाई सम्मान गर्ने निर्णय गरिएको छ ।

पाँच दशकदेखि अनवरत भाषा, साहित्य, राजनीति र समाजसेवामा क्रियाशील पाखे पञ्चायतविरोधी आन्दोलनका एक खम्बाका रुपमा छन् ।

पुरस्कृत एवं सम्मानित व्यक्तित्वलाई केही दिनपछाडि पोखरामा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने संस्थाका सचिव प्राञ्जलले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.