पुस ०२, २०८१, मंगलबार

नेपालका आरभ र सुनिरा सेमिफाइनलमा


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि जारी प्रतियोगिताको बहीबार सम्पन्न खेलमा पुरुष एकलतर्फ नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३-६, ६-४ र ६-३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।

यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाका प्रतीक नवीनसँग ६-३, ६-३ को सोझो सेटमा उनी पराजित भए ।

पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७-५ र ६-२ ले पराजित गरे । भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४-६, ६-२, ६-० ले पराजित गरेका छन् ।

महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकीवालालाई ६-१, २-६, ६-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् । भारतकै महिका खन्नाले भारतकै रित अरोरालाई टाइब्रेकरमा ७-६(५), ६-७(७), ६-४ ले पराजित गरिन् ।

मङ्गोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६-४, ६-० को जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए । यसैगरी भारतीय खेलाडी सगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६-० र ६-४ को जीत हासिल गरिन् ।

पुरुष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रवीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६-४, ६-७ (३), १३-११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

महिला डबल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३-६, ६-४, १०-३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

दिशा बेहेरा र अरजान खोराकीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७-६(४), ६-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर-१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।

त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धारण हुनेछ ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स/महिला एकल तथा डबल्स गरी चार ‘इभेन्ट’मा प्रतियोगिता सञ्चालन हुने र विजेता तथा उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन् ।

Copyright © 2024 | All rights reserved.