पुस ०२, २०८१, मंगलबार

मन्त्री केसीद्वारा घलेगाउँ-भुजुङ सडक निरीक्षण


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले लमजुङस्थित घलेगाउँ र भुजुङ जोड्ने सडकको निरीक्षण गरेका छन् ।

मन्त्री केसीले बिहीबार क्व्होलासोथर गाउँपालिका वडा नं १ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरेका हुन् । ठेकेदारले सडक निर्माणमा ढिलाइ गरेका कारण मन्त्री केसीले निरीक्षण गरेका हुन् ।

मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोलीले सडक निरीक्षण गरेको हो ।

मन्त्री केसीले सडकको काम छिटो सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए । कम्पनीका प्रतिनिधिले चैतसम्ममा काम सक्ने जवाफ दिए ।

बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम-नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

यो सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो ।

सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने हो । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन भएपछि काम हुन सकेन ।

लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो ।

तर, दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन । निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताए ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको बताए । त्यसैले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई आग्रह गरे ।

गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन उनको आग्रह थियो । पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताए ।

सोक्रममा मन्त्री केसीले करापुटार-डडुवा-साल्मेभञ्ज्याङ-मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड) को समेत अनुगमन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.