पुस ०२, २०८१, मंगलबार

पोखराबाट यसरी हुन सक्छ अन्तर्राष्ट्रिय उडान !


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

विश्व सिग्देल

कल्पना गर्नुस, तपाईं पोखराबाट अमेरिकाको सनफ्रान्सिस्को जांदै हुनुहुन्छ । तपाईंले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सनफ्रान्सिस्कोको निमित्त कोरियन एयरको (कुनै पनि एयर लाईन हुन सक्छ) टिकट काट्नु भयो । कोरियन एयरले तपाईंलाई आँफूसँग सम्झौता भएको बुद्ध वा यती एयरको टिकट र सिउल ट्रान्जिट हुँदै सनफ्रान्सिस्कोसम्मको बोर्डिङ पास पोखरा विमानस्थलबाटै उपलब्ध गराउने छ, इमिग्रेसनको सम्पूर्ण प्रक्रिया र लगेजसमेत पोखरामै बुझाउनु हुन्छ । अब तपाईं निस्फिक्रीसाथ एकैचोटी पोखराबाट काठमाडौँ सिउल हुँदै अमेरिका पुगेर झर्नु हुन्छ ।

मैले धेरै पटक काठमाडौँबाट अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट म पुग्ने सानो सहरमा स्थानीय विमानबाट पुगेर सामान बुझेको छु, अध्यागमनको प्रक्रिया पूरा गरेको छु । हामीलाई चाहिएको हाम्रै विमानस्थलबाट विदेश जान आउन तथा पयर्टक पनि यसरी सिधै पोखरा आउन भन्ने हो । हाम्रो भूगोल र विमानस्थलको आकारले बिचमा कमसेकम एउटा ट्रान्जिट पार नगरी गन्तब्यमा पुग्न सकिँदैन, अब हामीले दुईवटा ट्रान्जिट पार गर्नुपर्यो फरक यत्ति हो ।

विशेषज्ञले १८० सिटवाला न्यारोबडी विमान पनि पूरा भारबहन गरेर पोखरामा उडान अवतरण जोखिमपूर्ण हुन्छ, कुनै पनि जहाज कम्पनी यो जोखिम उठाउन तयार हुँदैनन् भनिरहेका छन् । अब पूरा क्षमताको २५÷३० प्रतिशत कम भार बोकेर उडान गर्दा कोही कम्पनी घाटाको सौदा गर्न तयार पनि हुँदैनन्, यो पनि सत्य हो । भारतले हामीलाइ सहज, सरल, किफायती रुट पर्ने गरेर अब कुनै नाका दिंदैन । यसमा आशा गर्नु स्यालको सिंग खोज्नु जस्तै हो ।

पोखरामा राहदानी भिसा देखाएर बोर्डिङ पास लिंदै एउटै टिकटमा गन्तब्यमा पुग्ने र फर्कने सबैभन्दा सहज, सरल र ब्यवहारिक उपाय यही हो, जुन संसारभरी प्रचलित छ । भोली यही अन्तर्राष्ट्रिय परिस्थिति बाध्यता नरहला, हाम्रा दिन पनि फेरिएलान्, सबैका दिन सधैँ एउटै रहँदैन । त्यतिखेर परिस्थिति आफैं अनुकुल भएर आउला । अहिले हुनसक्ने यत्ति हो । व्यवहारिक बनौँ, छलफल गरौं ।

Copyright © 2024 | All rights reserved.