0
प्रतिक्रिया
पोखरा । पोखरामा भइरहेको आइटिएफ जे-३० टेनिस प्रतियोगिताअन्तर्गत आज सम्पन्न सर्किट-१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६-३ र ६-४ मा पराजित गरेका हुन् ।
महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६-२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७-६ र ७-४ ले गुमाउन पुगिन् ।
‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६-२ र ६-१ ले पराजित गरे ।
‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६-३, २-६ र १०-५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।
विजेता खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गरे ।
प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट-२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेल सुरु भएका छन् । सर्किट-२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर-१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।
यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धारण हुनेछ ।
Copyright © 2024 | All rights reserved.