पुस ०२, २०८१, मंगलबार

पाेखरामा पर्वतीय महोत्सव सकियो


Advertisement Image
clock icon 4 days, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौँ पर्वतीय महोत्सव बिहीबार सकिएको छ ।

पाँच दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले महोत्सव समापन गरे ।

समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रीबच घनिभूत सम्बन्ध भएको औंल्याए ।

उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्द्धनमा सरकारले सघाउने वाचासमेत गरे ।

‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो, यसको विकास र प्रवर्द्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ’, उनले भने ।

समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयत्न गरिएको जनाए ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ, यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’

कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए ।

पछिल्लो समय जलवायु परिवर्तनका असर देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे ।

सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे ।

‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असर’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो ।

कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असर कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

उनले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए ।

‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ, यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ’, उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने संकट टार्न नेपालीको सामर्थ्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

डा कडरियाले भने, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ । ठूलो लगानी गरी यसका असरको मुकाविला गर्न कठिन हुन्छ ।’

ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुना कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन् । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौती थपेको उनको भनाइ छ ।

महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् ।

महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।

पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।

Copyright © 2024 | All rights reserved.