पुस ०२, २०८१, मंगलबार

एनपीएल : कर्णालीसँग लुम्बिनी र विराटनगरसँग चितवन पनि भिड्दै


Advertisement Image
clock icon 4 days, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । लुम्बिनी लायन्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज अन्तिम खेल खेल्दैछ । प्लेअफ होडबाट बाहिरिएको लुम्बिनीले अन्तिम खेलमा आज कर्णाली याक्ससँग खेल्न लागेको हो ।

खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका कप्तान एवं लुम्बिनीका कप्तान रोहित पौडेलका लागि प्रतिष्ठाको खेल पनि हुनेछ ।

उनी व्यक्तिगत रुपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भए पनि टिमलाई भने उचाइमा पुर्‍याउन सकेनन् ।

यता कर्णाली याक्स प्लेअफ नजिक पुगेको छ । शुरुका दुई खेल हारेपछि निरन्तर तीन जितसहित कर्णाली प्लेअफका लागि दाबेदारी दिन सफल भएको हो ।

भारतीय चर्चित खेलाडी शिखर धवनका कारण कर्णाली बलियो भए पनि उनी चार खेल खेलेर फर्केका छन् । तर अलराउन्डर दिपेन्द्र सिंह ऐरीको कप्तानीले कर्णाली सफल नै देखिएको छ ।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । विराटनगर प्लेअफ होडबाट बाहिरिइसकेको छ । यद्यपि अंक गणितीय खेलमात्र बाँकी छ । त्यस्तै चितवन प्लेअफ नजिक पुगेको छ । ५ खेलबाट ६ अंकको चितवन जित्दा प्लेअफ लगभग पक्का हुनेछ ।

अंक तालिकामा ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ६ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ ।

Copyright © 2024 | All rights reserved.