0
प्रतिक्रिया
पोखरा । उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औँ शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यास अर्हत्को चर्चा गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्को चर्चा गरे ।
“बुद्धमाथि भविष्यमा झनै अनगिन्ती कथा लेखिनुपर्छ, आज पनि लेखक शैलेन्द्र अधिकारी भनिरहेका छन्- बुद्ध बुझ्ने किताबै कम छ । म त्यही बुद्ध बुझाउने किताबमाथि सामान्य अध्ययनका आधारमा केही भन्न उभिएको छु” सापकोटाले भने, “के हामीले बुद्ध चिन्यौँ ? यस किताबले यही प्रश्न गरिरहन्छ ।” बुद्धलाई भगवान् भन्न सजिलो भएको तर उनलाई हामीले साँच्चै अँगालेका छौँ ? चिनेका छौँ ? भन्ने टड्कारो प्रश्न सबैलाई किताबले छोडेको उनको भनाइ थियो ।”
बुद्ध र बुद्धको कथाका रूपमा कृति आएको भन्दै सापकोटाले प्रत्येक पृष्ठमा अनोमा नदी झैँ प्रेमपूर्वक बुद्ध बगिरहेका धारणा राखे ।
भने, “आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ ले बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत गरेको छ, जसले अढाई हजार वर्षअघिको समाज-समयसँग साक्षात्कार गराउँछ ।”
उपन्यासले सिद्धार्थ गौतम कसरी ‘गौतम बुद्ध’ बने भन्ने कथा भनेको स्पष्ट पार्दै साहित्यकारसमेत रहेका सापकोटाले बुद्ध, तत्कालीन समय, बुद्धगाथा, धर्मोपदेश, सामाजिक र राजनीतिक अवस्था, जीवन, कपिलवस्तु राज्यको उत्थान र पतन नै ‘अर्हत्’ को विषय भएको बताए ।
बुद्धले आफैँ गृहत्याग गरेका हुन् वा राजनीतिक कारणले घर छोड्नुपरेको हो भन्ने कुरालाई किताबले विमर्शको बाटो छोडिदिएको उनको भनाइ थियो ।
उपन्यासकार शैलेन्द्र अधिकारीले आफूले बुद्ध दर्शन अध्ययनका क्रममा गुरुग्रन्थहरूबाट प्राप्त ज्ञानलाई उपन्यासमा समेटेको भनाइ राखे ।
पाठकले उठाएका प्रश्नको जबाफ दिँदै अधिकारीले आफूले दर्शनको वकालत नगरी बुद्धको वास्तविक जीवनी पाठकमैत्री आख्यानका रूपमा प्रस्तुत गरेको स्पष्टीकरण दिए ।
ऐतिहासिक विषयवस्तुका रूपमा बुद्धको जीवनका अनेकौँ पाटालाई उपन्यासमा प्रस्तुत गरेको उनको दाबी थियो ।
पाली भाषानिकट भएर लेखिएका सन्दर्भ र करिब २५ सय वर्षपहिलेको कथा उपन्यासमा भएकाले केही हदसम्म भाषा क्लिष्ट भएको हुन सक्ने उनको स्विकारोक्ति थियो ।
साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको भन्न पाउनु गौरवको कुरा भए पनि ‘बुद्ध वाज बोर्न इन नेपाल’ मात्र भनेर नपुग्ने बताए । बुद्धत्व स्थापनाका लागि बुद्ध दर्शनसम्बन्धी गतिविधि र सम्पदा संरक्षणका लागि विशेष पहल गर्नुपर्ने सरुभक्तको भनाइ थियो ।
बुद्धसम्बन्धी कृतिमा फरक फरक मत पाइने गरेको भन्दै उनले हामीले बुद्धलाई मानेका छौँ कि छैनौँ भन्ने प्रश्नसमेत उठ्ने गरेको प्रसङ्ग सुनाए ।
भिक्षुले नै कहिले बुद्धलाई ‘भगवान्’ भन्ने र कहिले भगवान् होइनन् मानव नै हुन् भन्ने दोधारे प्रवृत्तिप्रति असन्तुष्टि उनले राखे । बौद्ध दर्शनसम्बन्धी प्राविधिक शब्दको ज्ञानसमेत दिने अर्हत् उपन्यास पठनीय रहेको सरुभक्तको भनाइ थियो ।
छवि सुवेदी ‘विजयी’, भरतमणि भट्टराई, त्रुपक, सम्राट् गुरुङलगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीका सदस्य बाबुराम सुवेदीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.