पुस ०२, २०८१, मंगलबार

पोखरालाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअपमा


Advertisement Image
clock icon 1 day, 22 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको प्लेअपमा पुगेको छ । लिगको २७ औँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स प्लेअपमा पुगेको हो ।

जितका लागि पोखराले १ सय ५४ रनको चुनौती पछ्याउने क्रममा १९दशमलव४ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । अन्तिम ओभरमा ३ विकेट गुमेसँगै पोखरा जित नजिक पुगेर पनि पराजित हुन पुगेको हो ।

पोखराका लागि एन्ड्रेस गोसले ३६, रेमन राइफरले ३३ तथा किरण ठगुन्नाले ३२ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलेजिनले १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै हर्मित सिंहले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । आरिफ शेखले ३८ बलमा अविजित रहँदै ४२ रन जोडे । पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।

सुदूरपश्चिम सोमबार कर्णाली याक्ससँग लिगकै अन्तिम खेलमा भिड्नुअघि नै प्लेअपमा पुगेको हो ।
यो खेलसँगै पोखराले पहिलो संस्करण हारबाटै सकाएको छ ।

अंक तालिकामा ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको जनकपुर क्वालिफायरमा पुग्नेबारेमा सोमबारको सुदूरपश्चिम कर्णाली याक्सबीचको खेल निर्णायक हुने छ ।

त्यस्तै चितवन ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको छ । सुदूरपश्चिमसँग सामान्य जितले पनि कर्णाली प्लेअफमा पुग्नेछ भने फराकिलो हारले ७ खेलबाट ८ अंकमा रहेको काठमाडौँ गुर्खाजले प्लेअफमा स्थान बनाउन सक्छ ।

विराटनगर किंग्स ७ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा छ । पोखरा एभेन्जर्स ७ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा छ ।

Copyright © 2024 | All rights reserved.