बैशाख ०४, २०८२, बिहीबार

शैक्षिक कल्याणकारी कोषद्वारा प्रधानाध्यापक, अध्यक्ष र विद्यार्थी सम्मानित


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३औँ साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र माछापुच्छ्रे मावि, भुर्जुङखोलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

विद्यालयको विकासका लागि विशेष योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको सचिव मनिराम कडेलले जानकारी दिए ।

यसैगरी २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पनि जनही तीन हजार रुपियाँसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा माछापुच्छ्रे माविका सौगात रेग्मी, निष्पक्ष मावि, माछापुच्छ्रे गाउँपालिकाका पर्वत दाहाल, सिर्जना मावि, अन्नपूर्णका प्रवीण कुँवर, कालिका मावि, रूपाका आभार पौडेल, छोरेपाटन माविका सोहन कार्की र तालबाराही माविका कस्मित खनाल छन् ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख गोविन्दराज पोखरेलले परीक्षाले विद्यार्थीको सिकाइलाई बलियो बनाउने भएकाले आवधिक परीक्षा लिइनुपर्ने धारणा राखे ।

उनले औपचारिक रूपमा एसइई पूर्व योग्यता परीक्षा लिन नपाइने भनिए पनि माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषले सञ्चालन गर्दै आएको कक्षा १० र ११ को परीक्षा प्रशंसनीय रहेको बताए ।

प्रधानाध्यापक खटेको र आफ्ना कार्ययोजनामा विद्यालय व्यवस्थापन समितिका माध्यमबाट अघि बढेको विद्यालयको गुणस्तर राम्रो भएको बताउँदै पोखरेलले पढाइको माध्यम महत्त्वपूर्ण नभई सिकाइ महत्त्वपूर्ण भएको बताए । उनले प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै माध्यममा दिनुपर्नेमा परीक्षा बोर्ड सकारात्मक भएको जानकारी दिए ।

कोषका अध्यक्ष शम्भुराज बास्तोलाले परीक्षा लिन पाउने र नपाउने भन्ने कुरा गर्न नहुने बरु यसलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले कोषले कक्षा १० र ११ को परीक्षा सञ्चालन मात्र नगरी विद्यालयका बिचमा भाइचाराको सम्बन्ध स्थापित गरेको दाबीसमेत गरे । विद्यालय, शिक्षक, विद्यार्थी र पढाइ रहेसम्म परीक्षा रहने उनको तर्क थियो ।

सो अवसरमा सचिव मनिराम कडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणिराज परियारको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज पौडेल, पूर्व अध्यक्ष मित्रलाल सापकोटा, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष डिल्लीराम बराल, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्मानित सोही विद्यालयका अध्यक्ष बमबहादुर गुरुङ, सम्मानित बाबुराम अधिकारी, कक्षा ११ को परीक्षा सम्पादन समितिका तर्फबाट जगन्नाथ अधिकारी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलालगायतले कोषले गरेका कार्यक्रमको प्रशंसा गरेका थिए ।

सचिव मनिराम कडेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष जनार्दन सुवेदीले स्वागत गरेका थिए । कोषले कक्षा १० र कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विद्यार्थी सम्मान गर्दै आएको छ ।

Copyright © 2024 | All rights reserved.