बैशाख ०४, २०८२, बिहीबार

पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. २३ कार्कीको तगरास्थित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

निक्षेपकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान भइरहेको यस घटनामा सम्मानित कास्की जिल्ला अदालतबाट सहकारी ठगीसम्बन्धी मुद्दामा सात दिनको म्याद थप भइसकेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितलाई जाहेरी दर्ता गर्न आह्वान गरेको छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा प्राप्त उजुरीका आधारमा जाहेरी दर्ता गर्न आह्वान गरेको हाे ।

सहकारीमा रकम जम्मा गरेको प्रमाण स्वरूप शेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका कागजातसहित पीडितले जाहेरी दिन सक्नेछन् ।

पीडितले आफ्नो नागरिकताको प्रतिलिपिसहित यही पुस २० गतेभित्र अनिवार्य रूपमा जाहेरी दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मुद्दाको हद म्यादलाई मध्यनजर गर्दै पीडितलाई चाँडोभन्दा चाँडो जाहेरी दिन आग्रह गरिएको छ ।

Copyright © 2024 | All rights reserved.