0
प्रतिक्रिया
पोखरा । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका पूर्वडीआइजी छविलाल जोशीको बयान दुई दिन लगाएर सकिएको छ । उनको बयान सोमबारदेखि सुरु भएको थियो ।
जोशीको बयान सकिए लगत्तै सहकारी ठगीकै मद्दाकी लीला पछाईंको बयान सुरु भएको कास्की जिल्ला अदालत स्रोतले जनाएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेको बयान बुधबार मात्रै सुरु हुन सक्ने बताइन्छ ।
बयानका लागि रवि, छवि, लिला, व्यवसायी रामबहादुर खनाललाई आज पनि अदालतमा उपस्थित गराइएको हो । बिरामी परेका कारण अर्का आरोपी कृष्ण गुरुङलाई भने आज अदालतल उपस्थित गराइएको छैन ।
उनीहरुबिरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध दायर भएको अभियोगपत्र चार सय २७ पृष्ठ लामो छ ।
पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गरिएको छ ।
यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार तथा अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो ।
यस्तै लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराध र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको बताइन्छ ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित काठमाडौं, चितवन, बारा र रुपन्देहीमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
अदालतमा मुद्दा पुगेसँगै रविको सांसद पद निलम्बनमा परिसकेको छ । साथै उनको पार्टी रास्वपाले समेत उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापति तोकिसकेको छ ।
Copyright © 2024 | All rights reserved.