0
प्रतिक्रिया
पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखरेली गजलप्रेमी समूहले गजलसम्बन्धी घोषणापत्र जारी गरेपछि विश्वभरका नेपाली गजलकारबाट स्वागत पाएको बताएका छन् । केही दिनअघि सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले केही अतिवादी र उग्रवादी स्वभावका व्यक्तिबाट अज्ञानी, देशद्रोही, माफियागिरी जस्ता र यस्तालाई जेल हाल्नु पर्नेसम्मका कुरा सुन्न पाएको उल्लेख गरे ।
उनले थपे, ‘हामीले सहअस्तित्वका कुरा गर्याैं तर गजलमा उग्रवादी किल्ला निर्माण गरी राज गरें भन्ठानेकाहरूले आफ्ना किल्ला भत्केकोमा गालीगलौज गरिरहेका छन् ।’
सरुभक्तले थप लेखेका छन्, ‘अचम्म त के भने गजलका बहरसाधक गुरु भन्ठान्नेहरू गजल वा साहित्यका अन्य विधामा अपशव्द, असभ्यता र अशोभनीय होइन शिष्टता पालन गरेर प्राज्ञिक बहश गर्नुहोस् भनी भन्नसक्ने हैसियतका पनि रहेनछन्, केही बहरवादीले कोइलीको बथानमा काग राखेर काग कोइली हुँदैन जस्ता उपदेश दिन भ्याए, उनीहरूलाई हामीले कुरा त्यसो होइन सेतो छाला भएको मान्छेको समूहमा कालो छाला भएको मान्छेलाई राख्दा उ मान्छे नै हुन्छ अरू जन्तु हुँदैन भनेर सम्झाउन सकेनौँ ।’
आफूहरुले समकालीन गजलमा भएका अतिवादी किल्ला भत्काउन चाहेको र त्यो भत्केको भन्दै सरुभक्तले गजलकार प्राज्ञिक मन्थन आरम्भ भएकोले यसले अवश्य निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
‘गजलका उग्रवादीका हमला हामी सहन सक्छौँ तर हाम्रो काम ती व्यक्तिका उग्रतासित लडिरहनु होइन, हिजोदेखि म एक विदेशमा बस्ने एक उग्रवादीलाई विभिन्न उदाहरण दिएर सम्झाउँदै थिएँ तर उनी झन्झन् उग्र बन्दै मलाई व्यक्तिगत रूपले नीचता प्रदर्शन गरेर अज्ञानी र एउटा पनि गजल नलेख्ने भनेर महाज्ञान प्रदर्शन गरिरहेका छन्, प्राज्ञिक क्षमतामा विश्वास नगर्ने यस्ता व्यक्तिसित अल्झिरहनु मेरो स्वभाव हैन, यसर्थ अबदेखि यस्ता व्यक्तिसित म टाढै रहन चाहन्छु’, उनले लेखेका छन् ।
सरुभक्त भन्छन्, ‘म गजल प्रेमी हुँ, आफूलाई कुनै ठूलो गजलकार मान्दिनँ, तर प्रत्येक गजलप्रेमीलाई गजल बारे बोल्ने हक छ । म त्यस हकको उपयोग गरी गजलमा सहअस्तित्व निर्माण होस् भन्ने चाहन्छु, गजलसम्बन्धी पोखरा घोषणापत्रले प्राज्ञिक बहस आमन्त्रित गरेको छ, हामी स्वस्थ प्राज्ञिक बहस गर्न सधैँ तयार छौँ ।’
यसभन्दा अघिकाे एक कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताएका थिए ।
विशेषगरी बहरवादीले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको सरुभक्तको धारणा थियो ।
गजलमै विशेषज्ञता हासिल गरेका विद्वानले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद् अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको विचार राखेका थिए।
गजलको परम्परागत शाब्दिक अर्थ ‘प्रेमिकासँगको कुराकानी’ लाई मात्रै आत्मसात् गरेर लेख्ने परम्परा धेरै अघि नै तोडिएको भन्दै उनले ‘के त्यसो भए आजका दिनमा पनि महिलाले गजल नै नलेख्ने त ?’ भन्ने प्रश्न गरेका थिए।
परम्परागत लयविधान मात्रै अँगालेर लेख्नुपर्ने परम्परावादी सोँचले २१औँ शताब्दीका गजलकारको सोचलाई सम्बोधन गर्न नसक्ने विचार राख्दै सरुभक्तले कुन शैलीमा लेख्ने भन्ने कुरा लेखकीय स्वतन्त्रताको कुरा भएको बताए । उनले कसैले लेखेको गजललाई हास्यास्पद लाग्ने खालका कुनै नाम दिने काम बन्द गर्न पनि आग्रह गरेका थिए ।
यस्तो छ घोषणपत्र
सिर्जनधर्मिता र रचनात्मक वादविवाद एवम् संवादले साहित्य समृद्ध बन्छ । केही समययता सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा नेपाली गजलको सहअस्तित्वयुक्त विकासक्रमलाई प्रहार गरी अराजकता सिर्जना गर्ने, अशिष्ट भाषाशैलीमा भिन्न मतका गजलकारहरूलाई होच्याई आफूलाई ‘गजलको आधिकारिक पण्डित हुँ’ भनी ठान्ने र गजल लेखनमा लागेकाहरूलाई भ्रमित पारी निहीत स्वार्थ सिद्ध गर्न खोज्ने थोरै सङ्ख्याका व्यक्तिहरूले गजल शुद्धीकरणका नाममा गालीगलौज गरिरहेको देखिएको हुनाले सबैलाई सचेत र सजग पार्न हामी पोखरेली गजलप्रेमीहरूको समूहले गजलसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरी बुँदागत रूपमा यो गजल घोषणापत्र-२०८१ जारी गरेका छौँ ।
१. नेपाली साहित्यको कवितामा लोक छन्द, शास्त्रीय छन्दोबद्ध कविता लेखन परम्परा झैँ नेपाली गजलमा बहरबद्ध गजल लेखन परम्पराको संरक्षण र विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
२. तिसको दशकदेखि नेपाली गजल लेखनमा भित्रिएको स्वतन्त्र लयविधानयुक्त गजल लेखनको नवीन परम्परा, जसले सुस्ताएको गजल लेखनलाई पुनरुत्थान गरी यस अवस्थासम्म ल्याइपु¥याउन ठुलो भूमिका खेलेको छ, जुन अहिले नेपाली गजलकारहरूबिच लोकप्रिय रहेको छ, को निरन्तर विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
३. नवीन शिल्पशैली, विषय र चिन्तनहरू भित्रिरहनुले साहित्यलाई स्वस्थ र समृद्ध बनाउँछन् । प्राचीन छन्दहरूको लयविधानबाट मुक्त भई विश्वव्यापी रूपमा गद्य कविताको विकास भए झैँ गजलको बहर अर्थात् प्राचीन लयविधानबाट मुक्त भई स्वतन्त्र लयविधानयुक्त गजलको विकास हुनु एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ ।
४. केही व्यक्तिहरूले नेपाली गजल लेखनमा अनावश्यक विवाद उत्पन्न गरी, अराजकताको सिर्जना गरी गजललाई शुद्ध पार्ने नाममा आफ्नो स्वार्थ सिद्ध गर्दै बहरमा नलेखिएका सबै गजल गजल नभई त्यस्ता गजललाई अनेकौँ ‘हास्यास्पद नाम’ दिई हावादारी सिद्धान्तकार बन्ने र नेपाली गजलको स्वाभाविक विकास प्रक्रियालाई विभाजन गरी विशेष गरी नवोदित गजलकारहरूलाई दिग्भ्रमित पारिहेका छन् । हामी यसको घोर भत्र्सना गर्दछौँ । स्वतन्त्र रूपले गजल रचना गर्ने विश्वभरका नेपाली गजलकारहरूलाई आफूले लेखेको स्वतन्त्र लयविधानका गजललाई गजल नभई ‘अरू नै केही’ रहेछ भनी भ्रममा नपर्न आग्रह गर्दछौँ ।
५. छन्दमा नलेखी कविता हुँदैनथ्यो भने छन्दका महासाधक महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले गद्य शैलीमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य रचना गर्ने थिएनन् । बहर पनि गजल लेखनको प्राचीन छन्द हो त्यसैले स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नु जस्तै एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ । प्राचीन शास्त्रीय परम्परा मात्र ठिक र अरू बेठिक भन्ने सोच राखिएको भए विश्व साहित्य र नेपाली साहित्यमा गद्य कविता, आधुनिक नाटक, कथा, उपन्यास, निबन्ध कुनै पनि विधा जन्मने थिएनन् भन्ने यथार्थमा सबै साहित्यकार र विशेष गरी गजलकारहरूको ध्यान आकृष्ट गर्दछौँ ।
६. शास्त्रीय बहर र स्वनिर्मित÷स्वतन्त्र लयविधान दुवै शैलीमा लेखिएका गजललाई उत्तिकै सम्मान गर्नुपर्छ र ती दुवै शैलीका गजलका आआफ्ना अस्तित्व र महत्ता छन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ ।
७. यदि गजलका धेरै तत्त्वमध्ये एउटा तत्त्व ‘बहर’ प्रयोग नगरी गजल गजल बन्दैन भन्ने हो भने गजलका रदिफ, काफिया, मतला, मकता, मिसरा, सेर आदि अर्थात् गजलका अधिकांश तत्त्वहरू प्रयोग गरेर लेखिएका रचना कथित ‘नयाँ विधा’ कसरी बन्न सक्छ ? बहर र गैरबहरका नाममा लगाइने आक्षेप, गालीगलौज र आरोपप्रत्यारोपलाई तिलाञ्जली दिँदै नेपाली गजलको समुन्नतिको मार्गमा सहअस्तित्वमूलक ढङ्गले हामी सबै लागौँ र नेपाली गजलको इतिहासलाई कुरूप पार्ने, धमिल्याउने र विभाजित पार्ने तत्त्वहरूदेखि सावधान हुन हामी अपिल गर्दछौँ ।
पोखरेली गजलप्रेमी समूह, पोखरा
गजल घोषणापत्र-२०८१
Copyright © 2024 | All rights reserved.