0
प्रतिक्रिया
पोखरा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि छिटपुट वर्षा हुन सक्ने बताइएको छ ।
पोखरामा बिहान र बेलुका चिसो कायमै छ । पोखरामा आज बिहानको ८ बजेको तापक्रम ६ डिग्री रहेको छ र अधिकतम् २० डिग्री पुग्ने अनुमान गरिएको छ ।
साथै मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
Copyright © 2024 | All rights reserved.