0
प्रतिक्रिया
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले तेस्रो अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता आगामी फागुन १४ देखि १७ गतेसम्म माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसमा हुनेछ ।
खेलकुदमा युवालाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसँगै दुई लाख र उपविजेताले नगद एक लाख रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका दुई जना खेलाडी समावेश गर्न सकिने छ ।
यस्तै महिलातर्फ विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
सेमिफाइनलमा पुग्ने टोलीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उनले बताए । महिला भलिबलतर्फ एक समूहमा बढीमा दुई जना राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।
प्रतियोगिताको विधागततर्फ बेस्ट प्लेयर, कोच, स्पाईकर, मिडल ब्लकर, डिफेन्डर, सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोशाक प्रदान गरिने उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागी हुन फागुन १२ गते दिनको ३ बजेसम्म टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।
Copyright © 2024 | All rights reserved.