पुस २६, २०८१, शुक्रबार

१३औँ पाेखरा महाेत्सव शुरु


Advertisement Image
clock icon 10 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए ।

युनाइटेड क्लब पोखराद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।

उनले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गरे । देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।

पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको मन्त्री गुरुङले बताए । उनले भने, “पर्यटकीय राजधानीको रुपमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थनीय र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।”

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न जरुरी भएको बताए ।

पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उनले यहाँका तालहरुको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताए ।

पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिए ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभाहललगायत पूर्वाधार बनाउनुपर्ने उनले बताए ।

सांसद मनबहादुर गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिक रुपमा विकस गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवर्द्धन गर्न जरुरी भएको बताए । ‘पर्यटकीय राजधानी भएकाको कला संस्कृतिको विकासमा पनि ध्यान दिन जरुरी छ’, उनले भने ।

सासंद दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवर्द्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

गण्डकी प्रदेशलाई कृषि र पर्यटनको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बाह्र दिनसम्म चल्ने उक्त महोत्सवमा दुई सय ५८ कक्ष छन् ।

Copyright © 2024 | All rights reserved.