0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे ।
उनले सरकारले विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए ।
उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजना अघि बढेको उल्लेख गर्दै उनले यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने बताए ।
गोगन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय वर्तमान अवस्थासम्म आइपुुगेको भन्दै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिँदै आइएको बताए ।
विद्यालयमा राज्यका १६ वटामात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकबाट अध्यापन गराइएको उल्लेख गर्दै उनले सीमित साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको बताए ।
विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवं शैक्षिक प्रतिवेदनबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षक अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कत गरिएको थियो ।
शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदीलगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.