बैशाख ०४, २०८२, बिहीबार

निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको स्रोत रहेको बताएका छन् ।

अधिकृत विक्रेता संघ पोखरा (ड्याप) को १८औँ वार्षिक साधारणसभामा उद्घाटन गर्दै भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे ।

‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे, निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो’, प्रदेश प्रमुख भट्टले भने ।

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए ।

लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिए ।

उनले सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गरे ।

उनले नेपालको अर्थतन्त्र विस्तारमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ’, उनले भने, ‘यद्यपि निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’

एकै प्रकृतिका व्यवसायी एकीकृत भई उद्योगबाट उत्पादित एवं आयातित सामग्री सर्वसुलभ रुपमा उपभोक्ता समक्ष उपलब्ध गराउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ पोखराले लक्ष्य अनुरुप काम तथा गतिविधि गर्दै आएकोमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राख्दै सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु संस्थाको पवित्र उद्देश्य हुनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्त, पूर्वअध्यक्ष सरेश अधिकारी, ड्यापका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, वितरक महासंघ गण्डकी अध्यक्ष बद्री ढुंगाना, हिमालयन एभरेष्ट इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख शिव सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा इलोक्ट्रोनिक्स एण्ड मोवाइल एशोसियशनका अध्यक्ष चिन्तामणि पोखरेलले बोलेका थिए ।

ड्यापका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजेन्द्र पौडेल र महासचिव दिलिप श्रेष्ठले बोलेका थिए । कार्यक्रममा एसईई उत्तीर्ण प्रन्सुदेव पालिखेलाई पुरस्कृत गरिएको थियो ।

 

Copyright © 2024 | All rights reserved.