बैशाख ०४, २०८२, बिहीबार

२०औं लेखनाथ महोत्सवमा साढे नौ करोडको कारोबार


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित लेखनाथ महोत्सव सकिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा नौ करोड ५० लाख बढीको कारोबार भएको र तीन लाख बढी दर्शक सहभागी भएको प्रचारप्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।

महोत्सवबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ ।

यस पटकको महोत्सवमा बुद्धको मूर्तिसहितको नमुना विशेष आकर्षण बन्यो । साथै मातृशक्तिको सम्मानमा आयोजित हाजिरीजवाफ प्रतियोगिताले पनि धेरैको ध्यान खिचेको मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, विभिन्न जातजातिका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहको झाँकीर्याली तथा भेषभूषा प्रदर्शनीले पनि दर्शनकको ध्यान खिच्न सफल भयो ।

ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट महोत्सवको आकर्षण थियो ।

सो अवसरमा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्ना स्थान प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई सम्मान गरिएको थियो ।

महोत्सव समापनका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सव सफलतापूर्वक सम्पन्न भएकामा दर्शक र आयोजकप्रति आभार प्रकट गरे ।,

महोत्सवमा राखिएको गौतम बुद्धको मूर्तिलाई उपयुक्त दुई ठाउँमध्ये एक स्थानमा व्यवस्थित गरिने उनले प्रतिवद्धता जनाए ।

मूल संयोजक श्रेष्ठले महोत्सव महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको दावी गरे । प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सबैमा आग्रह गर्दै उनले लेखनाथ भित्रका संघसंस्था, व्यवसायी, विभिन्न जातजाति, आमा/महिला समूह र समग्रमा लेखनाथवासीको एकताले सफलता सम्भव भएको बताए ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताइन् ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन भएको र आगामी दिनमा अझ पर्यटकीय स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.