बैशाख ०४, २०८२, बिहीबार

३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० देखि


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि सञ्चालन हुने ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सव प्रवर्द्धनात्मक हुने बताएका छन् ।

मेलाको तयारीबारे जानकारी दिन मंगलबार आयोजना गरिएको वस्तुगत संघ/संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन्

मेला उद्यमशिलता विकासको उद्देश्यले आयोजना गरिएको र त्यसमा व्यापारभन्दा पनि प्रवर्द्धन र नयाँ सम्भावनाका खोजीमात्र गरिने उनले जिकिर गरे ।

‘संघले नेपालमै पहिलोपटक मेला आयोजना गर्दा जे उद्देश्य बोकेको थियो, अहिले हामी त्यही बिन्दुबाट अगाडि बढ्ने जमर्को गर्दैछौँ,’ उनले भने, ‘मेलामा सूचना प्रवधि, महिला उद्यमी र उद्योगका उत्पादन प्रदर्शनी हुनेछ,’ उनले भने, ‘मेला सिक्ने ठाउँ हो, मनोरञ्जन पनि चाहिएला तर अब हामी मनोरञ्जनात्मक गतिविधि कम र प्रवर्द्धनात्मक कार्यक्रम बढी गर्नेछौँ ।’

उनका अनुसार मेला सम्पन्न गर्न पाँच सय एक सदस्यीय मूल आयोजक र २७ वटा उपसमितिसहित कार्यसम्पादन समिति गठन भइसकेको छ ।

समग्र नेपालका औद्योगिक, हस्तकला तथा खाद्य परिकारको प्रदर्शनका निम्ति पोखरा उद्योग वाणिज्य संघले गण्डकीसहित सातवटै प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।

‘मेलामा गण्डकीसहित सातवटै प्रदेशका सरकारसँग त्यहाँका उत्पादन प्रदर्शनको व्यवस्थाका लागि अनुरोध गरेका छौँ,’ उनले भने, ‘सांस्कृतिक समूह पनि हरेक प्रदेशबाट आउँदै हुनुहुन्छ, हाम्रो मेला पूर्व मेचीदेखि पश्चिम महाकालीका उत्पादन, संस्कृति र खानाको त्रिवेणी हुनेछ ।’

आइटी महोत्सवअन्तर्गत सूचना प्रविधि क्षेत्रका पछिल्ला उत्पादन एवं त्यससँग सम्बन्धित नयाँ जानकारी पस्कने व्यवस्था मिलाइएको पनि उनले बताए ।

संघका उपाध्यक्ष बलराम आचार्यले उद्घाटनको दिन नजिकिँदै गर्दा आन्तरिक तयारी तीव्र पारिएको बताए ।

संघका महासचिव शोभा गौतमका अनुसार मेलामा कम्प्यूटर एसोसियसन पोखरा, मोवाइल वितरक संघ एवं पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा हुन लागेको मेलालाई सिर्जनशीलतासँग जोड्नका लागि विशेष पहल गरिएको छ ।

छलफलमा सहभागी वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिले संघको आयोजनामा हुने मेलालाई सघाउने प्रतिवद्धता जनाए ।

Copyright © 2024 | All rights reserved.