बैशाख ०४, २०८२, बिहीबार

पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुरू


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा वडा स्तरीय बृहत् खेलकुद महोत्सव सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने खेल महोत्सव वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो ।

महोत्सव उल्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सबैलाई राष्ट्रिय एकतामा ल्याउन मद्धत गर्ने बताए ।

अन्य विषयमा मतभेद रहे पनि, फरक विचार रहे पनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।

पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रम गर्न नसके पनि पोखरा-१५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताए ।

पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवले आमा समूह, टोल विकास संस्था र युवा क्लब बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताए ।

उनले वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।

वडाध्यक्ष बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।

वडासदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने दावी गरे ।

कार्यक्रममा वन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले बोलेका थिए ।

वडा कार्यालयदेखि वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडास्थित आमा समूह, विद्यार्थी, युवाले  र्‍याली निकालेका थिए ।

र्‍यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए ।

वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक भण्डारीले स्वागत र वडासचिव युवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेल सुरु भएका छन् । पुरुष फुटवलतर्फ पहिलो खेलमा गलेश्वर युवा क्लब, दोस्रो खेलमा अलकापुर विजयी बन्यो । साथै विद्यालय फुटबलमा वेलनन एकेडेमी र एसओएस बिजयी बन्यो ।

यता, पुरुष भलिबलमा तल्लो नयाँ गाउँ, आदर्श टोल विकास संस्था, चन्द्रसूर्य क्लब र गलेश्वर युवा क्लब विजयी भयो । साथै महिला भलिबलतर्फ जनजागृति महिला समूह विजयी बन्यो ।

ब्याडमिन्टन महिला डबलतर्फ बेलबोट आमा समूह, एकता आमा समूह विजयी र ठूली मजुवा आमा समूह विजयी भयो । ब्याडमिन्टन महिला सिङ्गलमा मितेरी आमा समूह, स्यानीपाटन महिला समूह र आदर्श आमा समूह विजयी भयो ।

Copyright © 2024 | All rights reserved.