बैशाख ०४, २०८२, बिहीबार

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि भएको बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएको प्रधानमन्त्रीले जिकिर गरे ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको स्पष्ट पारे ।

कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘हामी उठ्न नसक्ने कुनै कारण छैन, हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले दीक्षित विद्यार्थीलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन शुभकामना दिए । उनले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए ।

कार्यक्रममा कुलपति ओलीबाट २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरेका थिए ।

कार्यक्रममा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शैय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडल पनि सहभागी थिए ।

Copyright © 2024 | All rights reserved.