बैशाख ०४, २०८२, बिहीबार

मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने बताए ।

वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएकाले बताए ।

“संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ”, उपसभापति खड्काले भने ।

उनले थपे, “मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत नआउने र संसद्को अङ्कगणितका कारण साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।”

कांग्रेसकै नेतृत्वमा संविधान निर्माण जारी भएको भन्दै उपसभापति खड्काले संविधान संशोधन गर्न नेतृत्वदायी भूमिका पनि कांग्रेसले नै निर्वाह गर्ने बताए ।

सङ्घीय कानुन छिटो निर्माण गरेर प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो । सुशासनको जग बसाल्न र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसले पहल गर्ने उनले बताए ।

भ्रष्टाचारको अन्त्य, सुशासनमार्फत देशको समृद्धि नागरिकको चाहना रहेकाले सरकारले यिनै विषयलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने उपसभापति खड्काले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा नेपाली जनता मालिक हुने भएकाले उनीहरुकै सेवामा पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

Copyright © 2024 | All rights reserved.