0
प्रतिक्रिया
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले गण्डकी प्रदेश आफैमा सम्पन्न रहेको बताएका छन् ।
कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसस्थित सिक्लेस युवा क्लबको ३०औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेला उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
पर्यटकको आगमन बढ्दै जाँदा पर्यटकीय पूर्वाधारमा ध्यान दिन आग्रह गर्दै गुरुङले गण्डकी प्रदेशले प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले लक्ष्य लिएर काम गरे मुलुकको विकासमा गण्डकी प्रदेशले धेरै ठूलो योगदान दिन सक्ने बताए ।
नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक गण्डकी प्रदेशको भ्रमण आउने गरेका जिकिर गर्दै मन्त्री गुरुङले गाउँमा हुने मेला महोत्सवले त्यस ठाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्पष्ट पारे ।
गाउँगाउँमा व्यवस्थित रुपमा मेला आयोजना गरी मौलिक संस्कार संस्कृति प्रदर्शनी गर्नुपर्नेमा उनले जोड दिए ।
सिक्लेसको पर्यटन पूर्वाधार विकासका लागि पोखरादेखि सिक्लेससम्म पुग्ने सडक कालोपत्र गर्न पहल गर्ने उल्लेख गर्दै मन्त्री गुरुङले मन्त्रालयले यस वर्षभित्रमा नेपालका सबै घरघरमा इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएकाले सिक्लेसको सबै ठाउँमा टेलिफोन सेवा पुर्याइने बताए ।
सिक्लेस हुँदै मनाङसम्म पुग्ने पदमार्गसहित अन्य पदनमार्गका लागि स्थानीयसँगै अन्य पर्यटन व्यवसायीको सहकार्यमा अघि बढ्न सकिने उनको भनाइ थियो ।
Copyright © 2024 | All rights reserved.