0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेल जारी छन् ।
बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेल जारी रहे ।
वनविज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन बिहीबार विद्यालय फुटबलतर्फ रेन्बो एकेडेमी, एसओएस हर्मन माइनर, वेलनन एकेडेमी र हावर्ड एकेडेमी अन्तिम चारमा पुगेका छन् ।
फाइनल प्रवेशका लागि रेन्बोले एसओएस र वेलननले हावर्ड एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ ।
हावर्डले गोल्डेन फ्युचर, रेन्बोले थ्री एन्जल्स, एसओएसले विभूति शिक्षा सदन, वेलननले नेपाल भारत मैत्री विद्यालय र हावर्डले मेरीगोल्डलाई पराजित गरेको थियो ।
पुरुष फुटबलअन्तर्गत प्रतिभा टोल, संगम टोल र फलेपाटन टोल विकास संस्था विजयी भएका छन् ।
प्रतिभाले शिवशक्ति टोल विकास संस्था, संगमले ठूली मजुवा युवा क्लब, फलेपाटनले गण्डकी रिभर साइड युवा क्लबलाई पराजित गरेको हो ।
महिला भलिबलतर्फ जनजागृति आमा समूह र एकता समूह फाइनलमा पुगेका छन् ।
जनजागृति आमा समूहले चेतना महिला कृषक समूह र एकता आमा समूहले संगम टोल महिला समूहलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।
पुरुष भलिबलको उपाधिका लागि चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँटोल विकास संस्था भिड्ने भएका छन् ।
चन्द्रसूर्य क्लबले गलेश्वर युवा क्लबलाई पराजित गरेको हो भने तल्लो नयाँगाउँले आदर्श टोल विकास संस्थालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने महोत्सव संयोजक आशिष भण्डारीले जानकारी दिए ।
यता, ब्याडमिन्टनका खेल पनि जारी रहेको छ । सिंगल र डबल्सतर्फ विभिन्न खेल सञ्चालन भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.