0
प्रतिक्रिया
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा नागीधार महोत्सव सुरु भएको छ । महोत्सव माघ ६ गतेसम्म चल्नेछ ।
महोत्सव उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, ब्राह्मण समुदायको भजन टुक्कालगायतको सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।
महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव काेशेढुंगा सावित हुने बताए ।
‘सहर केन्द्रित महोत्सव धेरै हुने गरेका छन् तर तपाइँले आफ्नो गाउँको प्रचारप्रसार गर्नका लागि थालेको यो प्रयास महत्पूर्ण छ’, उनले भने, ‘पक्कै पनि यो महोत्सव यो क्षेत्रको पर्यटन र खेल क्षेत्रको प्रवर्द्धनमा काेशेढुंगा सावित हुने मेरो विश्वास छ ।’
उनले थुम्सीकोटदेखि गहते मिजुरे पाखुरीकोट नागीधार पोसीसम्मको सडक स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महोत्सवकै अवसरमा खेल मैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सरबहादुर गुरुङ, नरबहादुर गुरुङ, कृष्णप्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र मन्त्री गुरुङले संयुक्तरुपमा उद्घाटन गरे ।
महोत्सवमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महासमिति सदस्य दीपक गुरुङ, मादी-८ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्ववडाध्यक्ष याम गुरुङ, महिला नेतृ तीर्थकुमार गुरुङले बोलेका थिए ।
महोत्सवमा आयोजित खुला सेभेन ए साइड पुरुष फुटबलतर्फ कास्की र लमजुङका २८ टिमको सहभागिता रहेको खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लब अध्यक्ष विशाल घलेले जानकारी दिए ।
पहिलो खेलमा नागीधार एफसीले वालुवा एफसीलाई २-० ले पराजित गर्दा वद्रर एफसीले पोसी एफसीलाई ६-० ले पराजित गर्याे ।
यस्तै पाखुरीकोट एफसीले मुग्री एफसीलाई ४-० ले पराजित गर्दा कुम्लुङ एफसीले थुम्सीकोट एफसीलाई टाइवेकरमा ३-२ ले पराजित गरेको गर्याे ।
नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवर्द्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
नागीधार गाउँको सर्वांगिण विकासमा क्रियाशील सामाजिक संस्था नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरालगायत संस्थाको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथरबेँसी विकास समितिलगायत संस्थाको सहयोग तथा प्रवर्द्धनमा महोत्सव आयोजना गरिएको हो ।
Copyright © 2024 | All rights reserved.