0
प्रतिक्रिया
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोलाका ८७ जना महिलाको पाठेघरको क्यान्सर सम्बन्धी भिआइए परीक्षण गरिएको छ । जसमा छ जनामा भिआइए पोजिटिभ देखिएको बताइन्छ । उनीहरुलाई थप परीक्षणका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) मा रिफर गरिएको छ ।
रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हन् ।
कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ३ को सहकार्य र गण्डकी मेडिकल कलेज (जिएमसी) ले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दीपेन्द्र शर्माले सन् २०२४÷२५ मा कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लाका एक हजार सय भन्दा बढी महिलाको पाठेघरको भिआइए परीक्षण गर्ने लक्ष्य लिएको बताए ।
यसअघि पोखरा महानगरपालिका वडा नं. १६ र ७ नं मा शिविर सञ्चालन गरिसकिएको उनले बताए ।
फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरे । उनले वडा सदस्य, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाको पहलमा कार्यक्रम सफल भएको बताए ।
उक्त अवसरमा रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्वअध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, जिएमसीकी स्त्रीरोग विशेषज्ञ डा.बालकुमारी शाह, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.