0
प्रतिक्रिया
पोखरा । पाेखरामा आजदेखि पहिलो पटक दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा महोत्सव हुनेछ ।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ‘सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न र कृषि पर्यटनलाई पनि बढावा दिन महोत्सव महत्वपूर्ण हुने अध्यक्ष पहारीको विश्वास छ ।
‘बढ्दो शहरीकरण, बदलिँदो जीवन शैलीलाई न्यूनीकरण गर्न र परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न पनि महोत्सव स्थापित हुनेछ’, उनले भने, ‘पर्यटन व्यवसायीले पोखराको पर्यटनलाई जीवन्त राख्न सञ्चालन गरेका यस्ता महोत्सवबाट आन्त्तरिक एवं बाह्य पर्यटनलाई बढवा दिनेछ ।’
परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पोखरा पर्यटन परिषद्ले असारमा रोपाइँ महोत्सवमार्फत ‘हिलोमा एक पटक त टेक्नै पर्छ है’ भन्ने अभियान मात्र सञ्चालन गरेन नेपाल सरकारलाई यही दिनमा ‘धान दिवस’ को रुपमा मनाउन प्रेरित गरेको इतिहास साक्षी छ ।’
कृषिप्रधान मुलुक नेपाल र कृषि बालीमध्ये धान मुख्य बालीसँगै नेपालका अधिकांश जनताका भान्छाको प्रमुख परिकार हो । त्यसमाथि जेठो बुढो धान पोखराको पहिचान बनेको छ । तीब्र शहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धान खेती विगतका केही समय यता खस्कँदै गरेको अवस्थामा छ ।
बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदीबगर, फेवाफाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ । यसको जगेर्नाका लागि सन्देश दिन पनि यसवर्ष दाइँ महोत्सव आयोजना गरिएको अध्यक्ष पहारीले बताए ।
Copyright © 2024 | All rights reserved.