0
प्रतिक्रिया
पोखरा । महोत्सव पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा प्रथम दाईँ महोत्सव सम्पन्न भएको छ ।
महोत्सवमा पर्यटक, पर्यटन व्यवसायी, कृषक तथा विद्यार्थी सहभागी थिए । परम्परागत रुपमा गोरुको प्रयोग गरेर दाईँ गरिएको थियो । महोत्सवमा सहभागीले धान चुट्ने, कुनियोबाट धान झिक्ने, बत्ताउने, गोरु खेद्नेलगायतका काम गरेर रमाएका थिए ।
परिषदका अध्यक्ष अध्यक्ष तारानाथ पहारीले पोखरा ‘सबै मौसमका लागि’ भन्ने नाराकासहित ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सो महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा पर्यटक तथा युवालाई संग्लग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको अध्यक्ष पहारीको भनाइ छ ।
महोत्सवबाट पर्यटन प्रवर्द्धनसहित परम्परागत कृषि प्रणालीका बारेमा प्रत्यक्ष अनुभूति गराइएको उनले बताए ।
असार १५ मा असारे रोपाईँ महोत्सव गर्दै आएको परिषद्ले थान धन्काउने बेलामा दाईँ महोत्सव गरेको हो ।
बढ्दो शहरीकरण र स्थानीयको बद्लिँदो जीवनशैलीले रम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा महोत्सव सफल भएको अध्यक्ष पहारीको दावी छ ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिँह गुरुङले पोखरामा हरेक महिना पर्यटन प्रवर्द्धन गर्ने गतिविधि भइरहेको बताए ।
पोखरा देशको पर्यटन राजधानी घोषणापछि अहिले धेरै पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम भइरहेको भन्दै उनले दाईँ महोत्सवले कृषि पेशाप्रतिको आकर्षण वृद्धि गरी पर्यटन विकासमा समेत मद्धत पुग्ने स्पष्ट पारे ।
परिषद्का पूर्व गोपीबहादुर भट्टराईले खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा घटिरहेको अवस्थामा यसको जगेर्नाका लागि सन्देश महोत्सव सफल भएको बताए ।
कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देलले कृषि पेशामा लाग्नका लागि युवालाई आकर्षित गर्नुपर्ने बताए ।
Copyright © 2024 | All rights reserved.