0
प्रतिक्रिया
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० गतेदेखि सुरु हुने भएको छ ।
महोत्सवको सबै तयारी पूरा भएको बताइएको छ । यस पटकको महोत्सवमा १२औँ क्यान इन्फोटेक-२०२५ तथा चौथो मोवाइल एक्सपो-२०२५ पनि समावेश गरिनेछ ।
संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशीला बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि र हस्तकलाका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्य छ ।
कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे । उनले यस पटकको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने बताए ।
महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ ।
चौथो मोबाइल एक्स्पोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा मोवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा र हरेक दिन पाँच वटा डोरप्राइज उपलब्ध गराइनेछ ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रम आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य छ ।
मेलामा सहभागी हुनेलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघले जनाको छ ।
अध्यक्ष कार्कीले मेलालाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
संघकी महासचिव शोभा गौतमले यस पटकको महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताइन् ।
Copyright © 2024 | All rights reserved.